साेमबारदेखि फाइजर खाेपकाे दाेस्राे मात्रा दिइने, यी स्थानबाट लगाउन सकिन्छ

काठमाडौं । महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।

कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेकाे सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गरिनेछ ।

सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।

खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ । कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ । माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर अहिले क्रमिक रुपमा घटिरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१