• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रचण्डतर्फ संकेत गर्दै भट्टराईले साेधे- भित्र खाओवाद बाहिर माओवाद ?

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसी सम्झौतालाई गिजोलिएकोले त्यसको परिणाम गम्भीर हुन सक्ने बताएका छन् ।

भित्रभित्र राष्ट्रघात गर्ने तर बाहिर भने राष्ट्रवादका कुरा गर्ने प्रवृत्तिले एमसीसीलाई गिजोलिएको पनि उनकाे टिप्पणी छ ।

माओवादी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै भट्टराईले दुईजिब्रे प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले भनेका छन् ‘भित्रभित्र राष्ट्रघात बाहिर-बाहिर राष्ट्रवाद ?, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात, भित्र खाओवाद बाहिर माओवाद ।’

उनले यस्ता प्रवृत्तिले गर्दा नेपाली राजनीति नसुध्रने पनि उल्लेख गरेका छन् ‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है !’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरी संयुक्त रूपमा अमेरिकालाई पठाएको पत्र आइतबार बाहिरिएको थियो ।

उक्त पत्रमा एमसीसी अनुमोदन गर्न केही समय लाग्ने दुवै नेताले उल्लेख गरेका थिए ।