नेपाललाई चौतर्फी संकटमा फसाउने काम प्रचण्ड र माधव नेपालकाे झुण्डले गर्‍यो : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य सूर्य थापाले नेपाललाई चौतर्फी संकटमा फसाउने काम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरेकाे भनी आराेप लगाएका छन् ।

साथै, उनले अमेरिकी सहायता परियोजना (एमसीसी) मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान भन्दै त्यसलाई विद्रूप बनाउने काम भएको अरोप पनि लगाएका छन् ।

‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशः च्यातचुत पारिँदैछन्,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरी थापाले लेखेका छन्, ‘तिनले भविष्यमा जवाफ दिन सक्लान्, अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ?’

एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुने थापाको भनाइ छ । अगाडि उनले भनेका छन् ‘जसरी अरूण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव नेपाललगायतको झुन्डले गरिरहेको छ ।’

आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का महासचिव शंकर पाेखरेल र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका बीच समसामयिक विषयमा छलफल भएकाे थियाे ।

थापाले छलफलमा पार्टी फुटाएर मन्त्री खान गठबन्धनमा सामेल भएकाहरु उपस्थित नभएकाे भनेर पनि कटाक्ष गरेका छन् । उनले भनेका छन् ‘अझ गठबन्धनमा बसेर चन्दा उठाउँदै सडकमा उत्रिएर दुवै डुंगामा खुट्टा टेकिरहेका नाैटंकीवाजहरूकाे पनि उपस्थिति थिएन ।’

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार बसेकाे बैठककाे तस्बिर र प्रचण्डकाे दुई जिब्रा भएकाे सम्पादन गरिएकाे तस्बिरसहित उक्त पाेस्ट लेखेका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१