बलात्कार आराेप लागेका सांसद बानिया भन्छन् : ‘आर्थिक लेनदेन थियाे, फसाउने प्रयास भयाे’

काठमाडाैं । नेकपा एमालेका कर्णाली प्रदेश सांसद मोहन बानियाँले आफूमाथि लागेकाे बलात्कार आराेपको समाचारकाे खण्डन गरेका छन् ।

जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएर फसाउने प्रयास गरेको उनले बताएका छन् । सांसद बानियाँले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेका हुन् ।

नेता बानियाँले उक्त प्रकरणले आफ्नो मानमर्दनमा आँच पुगेको पनि उल्लेख गरेका छन् । उनले आरोप लगाउने महिला र आफूबीच आर्थिक कारोबार रहेका बखत उक्त प्रकरण निकालिएको पनि बताएका छन् ।

उनले भनेका छन् ‘आज केही दैनिक समाचार पत्र र केही अनलाइन मिडियाले सत्यतथ्य नबुझी एउटा शिक्षिकासँग नाम जोडेर छापिएको अति भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो मानमर्दनमाथि गम्भीर चोट पुगेको छ । मसँग जोडिएको शिक्षिकासँग चेक बाउन्ससम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम हुन सक्छ कि सक्दैन, त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो ।’

त्यसैगरी उनले आफुलाई फसाउने प्रयास गरेको र आवश्यक पर्दा आफूले प्रमाणहरु बाहिर ल्याउन सक्ने समेत बताएका छन् । उनले सत्यतथ्य नबुझी समाचार नलेख्न सञ्चार माध्यमसमक्ष आग्रहसमेत गरेका छन् ।

‘आवश्यक पर्दा धेरै प्रमाणहरु हामीसँग सुरक्षित छन् । यो बेइजतीकाे ढोका नखोलौँ भनेर चुप बसेको हो, यो त धोका र बेइमानीको ठूलो पराकाष्ठा हो । त्यसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला । कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ’ उनले भनेका छन् ।

सांसद बानियामाथि जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकाे समाचार मंगलबार केही अनलाइनमा प्रकाशित भएकाे थियाे । उक्त समाचारमा जिल्ला प्रहरी कार्यालय बाँकेमा ती शिक्षिकाले ‘माघ १९ गते राती बानियाले कण्डम लगाएर २ पटक बलात्कार गरेकाे’ भनी जाहेरी दिएकाे जनाइएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१