• २०८३ साउन २
  • 2026 July 18, Saturday

चीन भ्रमण सकेर राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको पाँच दिने औपचारिक भ्रमण सकेर विहीबार स्वदेश फर्किएकी छिन् । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा सम्पन्न ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी भएर उनी स्वदेश फर्किएकी हुन्।

उपाध्यक्ष घिमिरे ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ५ गते चीन गएकी थिइन् । उपाध्यक्ष घिमिरेसंगै प्रतिनिधीमण्डलका सदस्यहरु राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह पनिस्वदेश फर्किएका छन् ।

उपाध्यक्ष घिमिरेले जुलाई २३ मा भएको प्रर्दशनीको उद्घाटन समारोहमा सम्बोधन गरेकी थिइन । सभामा सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति सँधै प्रतिबद्ध रहेको बताएकी थिइन् । नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति संञ्चालनमा रही आएको तथा चीन र नेपालबीच दौत्य सम्बन्ध कायम भए पश्चात चीन नेपाल सम्बन्ध नयाँ उचाईमा पुगेको पनि बताएकी थिइन् ।

भ्रमणका क्रममा उपाध्यक्ष घिमिरेले चीनको जन कंग्रेस स्थायी समितिका उपाध्यक्ष डिङ झोङ्गली, युनान प्रान्तका गर्भनर वाङ यूलगायतका चीनियाँ उच्च अधिकारीहरुसंग भेटवार्ता गरेकी थिइन् ।भेटका अवसरमा चीनियाँ अधिकारीहरुले सहयोगको क्षेत्रलाई थप फराकिलो बनाउँदै जाने, नेपाली विद्यार्थीका लागि थप छात्रबृत्तिको उपलब्ध गराउने तथा नेपालको कृषि क्षेत्रमा प्रबिधी हस्तान्तरणलाई बढाउने प्रतिबद्धता जनाएका थिए ।