आफ्नै मृत्यु प्रमाणपत्र बोकेर हिँडिरहेका चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । मृत्यु प्रमाणपत्र कीर्ते गरेको आरोपमा एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज अस्पतालबाट वाङ् योङ्ग नाम गरेका चिनियाँ नागरिक विभिन्न कागजपत्रसहित पक्राउ परेका हुन् ।

नक्कली मृत्यु प्रमाणपत्र बोकी हिँडेको भन्ने गोप्यसूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीद्वारा टोलीले उनलाई पक्राउ गरेको हो ।

उनकाे साथबाट कालो रंगको भिर्ने झोला, वाङ् योङ्ग र सिएओ जेआई नाम गरेका दुई ओटा राहदानी, ग्रिन सिटी अस्पतालको नाममा जारी गरिएको मृत्यु प्रमाणपत्रसहितको कागजात, पशुपति आर्यघाट सेवा केन्द्रको नाममा जारी गरिएको कागजात र ओप्पो कम्पनीको मोबाइल सेट बरामद गरिएको छ ।

घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१