ओमानले दियाे नेपाललाई १३६ रनकाे लक्ष्य

काठमाडाैं । चारदेशीय टी२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनाउन सफल रह्याे । सुरुवात राम्रो गर्न नसकेको ओमानले २४ रन हुँदा पहिलो विकेट गुमाएकाे थियाे । ओपनर कश्यप प्रजापतीलाई ब्यक्तिगत ११ रनमा अभिनाश बोहराले बोल्ड आउट गरेका थिए ।

त्यसपछि लगातार नेपालले २ विकेट लिन सफल भएकाे थियाे । जतिन्दर सिंहलाई आरिफ शेखले ब्यक्तिगत १३ रनमा र आयान खानलाई कमलसिंह ऐरीले ब्यक्तिगत ११ रनमा आउट गरे ।

त्यसपछि ओमानको स्कोर ५८ रन हुँदा चौथो विकेट गुमायाे । त्यसपछि कप्तान जिसान मक्सुद र मोहम्मद नदिमले ओमानको पारि केही सम्हालेका थिए ।

ओमानको स्कोर एक सय १९ रन पुगेका बेलामा नेपालले पुन: पाँचाै सफलता हात पार्‍यो । त्यसपछि खाता खाेल्न नपाउँदै ओमानका सिम खुसी आउट भए । जसका कारण ओमानले एक सय २० रनमा ६ विकेट गुमायो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१