काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।
बडूले सरकारले दुईदिन सहमति खोज्ने र समझदारीको आधारमा शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेवल गर्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको बैठकमै एमसीसी टेवल गर्न सभामुखलाई आग्रह गरेका थिए । तर, सत्ता गठबन्धन दलहरूबीचमै एमसीसीबारे मतभेद चर्किएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर शुक्रबारको बैठकमा टेवल गर्ने तयारी गरेको हो ।
बुधबारको प्रतिनिधि सभाको बैठकपछि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको उल्लेख गरे ।
सत्ता घटक नेकपा माओवादी केन्द्रको बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अघि बढाए त्यसको विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
देउवा–दाहालबीच गठबन्धनमा पुनः एक पटक सहमतिको प्रयास गर्ने र अघि बढ्ने समझदारी बनेको बालुवाटार स्रोतकाे दाबी छ ।