एमसीसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ : सचेतक भुसाल

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसि) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताएकी छन् ।

एमसिसिलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्‍याङ बनाउन नहुने भन्दै उनले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्ने बताइन् ।

नेत्री भुसालले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) र नेपाली कांग्रेसका यसअघिका सरकारले एमसिसिलाई स्पष्टसँग अघि बढाएको अवस्था रहेको स्मरण गर्दै एमाले सरकारले त संसद्बाट पारित गर्नुपर्छ प्रावधान नै राखेको घटना सुनाइन ।

उनले भनिन्, “एमसिसि यथाशीघ्र सदनमा प्रवेश गराएर धेरै छलफल गरियो भने उठेको प्रश्नबारे आमजनता स्पष्ट हुन्छन्, हाउसमा टेबल भएर छलफल भइसकेपछि चित्त नबुझ्नेले मतदान गर्न सक्दिन भन्न पाउँछ नि ।” हाम्रो पार्टीले एमसिसि सदनमा प्रवेश गराएर व्यापक छलफल गर्नुपर्छ भनिरहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका सचेतक उमाशङ्कर अरगरियाले नेपाल र नेपालीको हितमा रहेको एमसिसि सम्झौतालाई सदनमा छिटो प्रवेश गराई गहन छलफल हुन आवश्यक रहेको बताए । उनले भने, “राजनीतिक दल र केही नेता विशेषमा मात्र सीमित नतुल्याएर यथाशीघ्र एमसिसीलाई छिटो सदनमा प्रवेश गराउनुपर्छ । यो नेपालको विकास र नेपालीको समृद्धिसँग सम्बन्धित विषय छ ।”

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१