![](https://hulaksanchar.com/wp-content/uploads/2021/11/Kamal-thapa-.jpg)
काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीकाे घाेषणा सभामा आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएकोबारे स्मरण गरेका छन् । उनले गीतामा हात राखेर कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी पनि गरेका छन् ।
आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको बताएका हुन् ।
उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिन छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’
उनले आफूले चाहेकाे भए पार्टी फुटाउन सक्ने पनि बताएका छन् । उनले भने ‘मैले चाहेको भए सक्थेँ । अहिले पनि राप्रपामा हामीप्रति स्नेह राख्ने बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू हुनुहुन्छ । वहाँहरूले विधान र कानुन बमोजिम बहुमत पुर्याएर पार्टी फुटाऔँ भन्ने सल्लाह दिनुभएको थियो । तर मैले पार्टी फुटाउन चाहिनँ ।’
उनले पार्टी फुटाएर बलियाे बनिन्छ भन्नेमा आफ्नाे विश्वास नभएकाे पनि बताएका छन् । उनले आफूले खडा गरेकाे राप्रपा नेपाल पुन: जागृत गरेकाे पनि बताए ।