काठमाडाैं । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमाथि द्वैध चरित्र देखिएको भन्दै कटाक्ष गरेका छन् ।
उनले ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको उल्लेख गरेका छन् । उनले एमसीसीमा सहमति गरेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको सत्तामा बसिरहने लालच भएकाे पनि दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ‘एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको छ । एकातिर आफ्ना भ्रातृ संगठनलाई काला ब्यानर बोकाएर सडकमा उतार्ने, पार्टीका बैठकमा एमसीसी पारित गरिनु हुन्न भनेर निर्णय गर्ने अनि अर्कातिर अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने र दृश्य–अदृश्य बैठकबाट एमसीसीलाई सदनमा पेश गर्न ‘सर्वसम्मत हुने’ विरोधाभाषी र निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन ।’
सत्तारुढ गठबन्धनसँग बहुमत भएकाले एमसीसी पेश गर्न र पारित गर्न मिल्ने भए पनि आफैँ पेस गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन भने नमिल्ने उनकाे भनाइ छ ।
उनले एमसीसीको विरोध गर्नेले हिम्मत भए राजीनामा दिएर देखाउन चुनाैतिसमेत दिएका छन् ।