
रुसी सेनाले युक्रेनको कीभ टीभी टावरमा आक्रमण गरेको छ ।
मंगलबार गरिएको उक्त मिसाइल आक्रमणमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सार्वजनिक भिडियोमा टावरमा विस्फोट र धुवाँको मुस्लो देखिएको थियो ।
आक्रमणपछि रुसले युक्रेनी टीभी प्रसारणहरू बन्द गर्न चेतावनी दिएको छ । रुसले युक्रेनको राजधानीमा आक्रमण गर्ने चेतावनीका बीच यो घटना भएको हो ।
टावरमा क्षति पुगेपछि युक्रेनी टीभी प्रसारण रोकिएको छ । युक्रेनको सञ्चार प्राधिकरणले अब ‘रिजर्भ प्रसारण’ चालु गर्ने बताएको छ ।
युक्रेनको विदेश मन्त्रालयले यो आक्रमणलाई ‘बर्बरतापूर्ण’ भएको बताएको छ ।
टावर बेबिन यार क्षेत्रमा रहेको थियो । अहिले दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् ।
रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।