
काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल श्रृङ्खला खतिवडाले पल शाह प्रकरणमा आफ्नो धारणा व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत नाबालिगसँग शारीरिक सम्बन्ध राख्नु अपराध भएको भन्दै पीडितलाई कुनै पनि किसिमको आरोप लगाउन नहुने बताएकी छन् ।
‘नाबालिगसँग यौन सम्बन्ध हुनु अपराध हो, यसमा ‘यदि’ वा ‘तर’ भन्ने कुरै आउँदैन,’ श्रृङ्खलाले लेखेकी छिन्, ‘पीडितलाई कसैले पनि आरोप नलगाउनुस् । ‘उसले नै चाहेर भएको हो’ भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ । नाबालिगले ‘अनुमति’दिएमा पनि वयस्कको कर्तव्य ‘नाइँ’भन्नु हो ।’
उनले पलको मुद्दामा बालिका कुनै पनि निर्णय गर्न वा अनुमति दिनमा कम उमेरको भएको बताएकी छन् ।
‘धेरै साना बालिकाहरुले आज आफूभन्दा ठूलासँग यौन सम्बन्ध राखिरहेका हुन्छन् । जसले उनीहरुको जीवनमा ठूलो दाग बनाइदिन्छ,’ श्रृङ्खलाले भनेकी छन्, ‘त्यसैले यो कानुन छन्, जसले कम उमेरका युवती (र, युवक)हरुको दुरुपयोग हुनबाट जोगाउँछ ।’
उनले यो घट्नाले सबैमा चेतना र पाठ जगाउनुपर्ने पनि उल्लेख गरेकी छन् ।