
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिंगे गैंडा मृतावस्थामा फेला परेको छ ।
कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैंडाबारे जानकारी पाइएको बताए ।
‘सामुदायिक वनको बेलघारी सोराहामा निउराे टिप्न गएका स्थानीयवासीले मृत गैंडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो’, तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्यो’, मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैंडा मृत फेला परेका तिवारीले बताए । यस वर्ष हालसम्म मरेका गैंडामध्ये २८ गैंडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैंडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ ।
-फाइल तस्बिर ।