रसियाद्वारा युक्रेनका २ सहरमा अस्थायी युद्ध विरामको घोषणा

रुसिया र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ । रसियाली सेनाले युक्रेनका विभिन्न शहरुहरुमा नियन्त्रण जमाएका छन् ।

राजधानी कीभलगायतका शहरमा पनि रसियाली सेनाको उपस्थिति छ । कीभसहित विभिन्न शहरमा अहिले पनि युद्ध जारी छ ।

यसबिच रसियाको रक्षा मन्त्रालयले युक्रेनका २ शहरमा अस्थायी युद्ध विरामको घोषणा गरेको छ । मरिओपो र भोल्नोभाखामा मानवीय सहयोगद्वार खुल्ला हुने गरी युद्ध विराम घोषणा गरिएको बीबीसीले जनाएकाे छ ।

युद्धग्रस्त दुई शहरमा फसेका मानिसहरुलाई निस्कन सहज हुने गरी युक्रेनी अधिकारीहरुसँग सहमति भएको रसियाले जनाएको छ । युक्रेनले भने युद्ध विरामको बारेमा केही पुष्टि गरेको छैन ।

युद्धका कारण हालसम्म १२ लाखभन्दा बढीले युक्रेन छाडिसकेका छन् । अझै लाखौँ मानिस युक्रेन छाड‍्ने तयारीमा रहेको बताइएकाे छ ।

यद्धकाबीच रसिया र युक्रेनबीच वार्ताका प्रयास पनि भइरहेकाे छ ।

यसअघि पहिलाे चरणकाे वार्ता असफल भए पनि दाेस्राे चरणकाे वार्तामा युद्धग्रस्त दुई शहरमा फसेका मानिसहरुलाई निस्कन सहज हुने गरी युक्रेनी अधिकारीहरुसँग सहमति भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् ।

संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गरी सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशासमेत व्यक्त गरेकाे छ ।

संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई वार्ता जारी राख्न र सुरक्षा, मानवीय र अन्य मुद्दाहरूमा तत्काल प्रगति गर्न आग्रह पनि गरेको छ ।

रुस र युक्रेनले बिहीबार बेलारुसमा दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय कोरिडोरहरू व्यवस्थित गर्न सहमत भएका थिए ।

‘मानवीय कोरिडोरको संगठनको लागि मात्र समाधान छ’ युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा भनेका छन् ।

रुसी प्रतिनिधिमण्डलका प्रमुख समेत रहेका रुसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले दुवै पक्षले सैन्य मामिला, मानवीय मुद्दा र भावी राजनीतिक समाधानबारे छलफल भएको बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१