
काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सीमानामा निर्मित सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएकाे छ ।
प्रतिनिधिसभाका माननीय सांसद योगेश भट्टराई र माननीय संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले भारत सरकारको अनुदान सहयोगमा ताप्लेजुङ्ग जिल्लाको सिमानामा रहेकाे श्री सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो उद्घाटन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय समुदायका अगुवा, शिक्षक/शिक्षिका, अभिभावक, छात्र/छात्रालगायतको उपस्थिति थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कुल ३ करोड १० लाख रुपैयाँको लागतमा उक्त दुई तले भवनको निर्माण भएको हो । सन् १९५० मा स्थापना भएको यस विद्यालयमा हाल १६०० जना विद्यार्थी अध्ययनरत छन् ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये ताप्लेजुङ्गका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले ताप्लेजुङ्ग जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई हालसम्म ७ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।