• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य

  • २०८२ भदौ ७, शनिबार १३:०४

नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरुले औंल्याएका छन् ।

नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषण लगायतका क्षेत्रमा गरेको उन्नतिबाट नेपालले पनि लाभ उठाउनसक्नुपर्ने बताएका हुन् ।

पूर्व परराष्ट्रमन्त्री एवम चीनका लागि नेपालका पूर्व राजदूत महृेन्द पान्डे, इतिहासविद डा. सुरेन्द्र केसी, परराष्ट्र विज्ञ डा.मनिता कुशी र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले यस्तो धारणा राखेका हुन् ।

पूर्व परराष्ट्रमन्त्री पान्डेले हाल विवादमा आएको लिपुलेक प्रकरणमा प्रधानमन्त्रीले सुझबुझपूर्णरुपमा कदम चाल्नुपर्ने बताए । आफ्नो आसन्न चीन र भारत भ्रमणमा अनुकुल वातावरण बनाएर दुबै देशसंग परिणाममुखी वार्ता गर्न उनले सुझाव दिए ।

नेता पान्डेले चीनका हरेक विश्वविद्यालयमा अनुसन्धानलाई उच्च प्राथमिकता दिने गरेकोे बताउँदै नेपालका विश्वविद्यालयलाई पनि त्यसै अनुसार अघि बढाउनुपर्ने धारणा राखे ।

प्रा. डा. सुरेन्द्र केसीले नेपालको सुरक्षाको ढाडस नै चीन रहेको धारणा राखे । दुई देशिय सम्बन्धको इतिहास कोट्याउँदै उनले अंशुवर्मा, भृकुटी, अरनिको लगायतबाट जोडिएको सम्बन्ध अहिले राजनीतिक र जनस्तरमा समेत बलियो हुँदै गएको बताए ।

विगतमा भारतसँग भन्दा नेपालको चीनसंग सम्बन्ध राम्रो रहेको उनको दाबी थियोे । उनकाअनुसा, चीनलाई राष्ट्र संघको सदस्य बन्न पनि नेपालको भुमिका थियो ।

क्लाउडका अध्यक्ष उप्रेतीले आर्थिक रुपमा चीन विश्वकै पहिलो शक्ति बन्ने अवस्थामा पुग्नै लाग्दा नेपाल भने झिनामसिना कुरामा अल्झनु दुःखद भएको टिप्पणी गरे । उनले कुटनैतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुग्नु आफैमा गौरवमय भएको धारणा रा्ख्दै चीनको उन्नतिको लाभ उठाउन ढिलो गर्न नहुने धारणा राखे ।

  • २०८२ भदौ ७, शनिबार १३:०४