• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द देखिएका छन्।

मूल्य घटेसँगै पुरानो मौज्दातबाट हुने घाटा देखाउँदै धेरै निजी पम्पले बिक्री बन्द गरेका हुन्। निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको थियो। बन्द रहेका पम्पका कारण केही स्थानमा इन्धन भर्न पुगेका सर्वसाधारण भने फर्किन बाध्य भएका छन्।

नेपाल आयल निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले घटाएको छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर २६५ डलरले घटाएको जानकारी दिएको छ ।

त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १०० रुपैयाँले घटाएको निगमले जनाएको छ ।

यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १९७, डिजल- मट्टीतेल प्रतिलिटर १९५ पर्ने भएको छ ।

त्यस्तै, एलपी ग्याँसको मूल्य आधा सिलिन्डरको १०३० र पूरा सिलिन्डरको २०६० पर्ने निगमले जानकारी दिएको छ ।