सलमान खानसँग मन्त्री आलेको सात मिनेट संवाद : के-के भयाे कुराकानी ?

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच बुधवार भर्चुअल संवाद भएको छ ।

आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ को शिलशिलामा भएको भर्चुअल संवादमा फिल्मी गफ पनि भएको हो । मन्त्री आलेले ७ मिनेटको समयमा पर्यटन, फिल्मसहित नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देशसमेत दिए ।

सन् १९८८ मा आफू मुम्बईमा रहेको भन्दै मन्त्री आलेले बिबी होतो एसी र मेने प्यार किया फिल्म हेरेको र मन परेको सलमानलाई बताए । ‘मेरो पिता मुम्बईको रेल्वेमा काम गर्नु हुन्थ्यो । त्यहाँ रहँदा मैंले तपाईंको दुई फिल्म हेरेको थिएँ । मलाई तपाईंको तेरेनाम पनि निकै मन पर्छ’ मन्त्री आलेले भने । सलमानले पनि आफ्नो फिल्म रुचाएकोमा धन्यवाद दिएर आउँदो फिल्महरुलाई पनि माया गरिदिन आग्रह गरे । उनले नेपाल आएको सम्झिए ।

‘मेरो एक फिल्म बुलन्द नेपालमा छायांकन भएको थियो । तर, त्यो पुरा बनेन । त्यसपछि नेपाल आउने संयोग नै जुरेन । तर, अब आउने कुराले म उत्साहित छु’ सलमानले भने । ‘कोभिड पश्चात हामी तपाईंको कार्यक्रम पश्चात नै पर्यटन प्रवर्द्धन हुनेमा विश्वस्त छु’ मन्त्री आलेले भने ।

उनले सलमानलाई सगरमाथालाई माउन्टेन फ्लाइट मार्फत अवलोकन गर्न र एभेरेष्टमा ब्रेक फास्ट गर्न आग्रह गरे । ‘तपाईंको समय मिलाउनु भयो भने म तपाईंलाई विश्वकै अग्लो शिखर सगरमाथा फ्लाइट मार्फत घुमाएर त्यहाँ खाजा खुवाउन चाहन्छु’ मन्त्री आलेले प्रस्ताव गरे ।

मन्त्री आलेको प्रस्तावमा सलमानले सहमति जनाउँदै ‘हुन्छ’ भने । साथै, मन्त्री आलेले नेपाल सुन्दर देश रहेको भन्दै सलमानलाई आफ्नो शो, म्युजिक भिडियो तथा फिल्म छायांकन गर्न पनि आग्रह गरे ।

जवाफमा सलमानले पनि फिल्मको डिमाण्ड भएमा आफूले त्यो गर्ने बताए ।

‘दबङ रिलोडेड टुर’ मा सलमानसहित सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज, प्रभु देवा, गुरू रान्ध्वा, आयुष शर्मा, मनिष पौल लगायतका भारतीय कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१