विद्युत प्राधिकरणलाई ३५ दिनमा करिब ८ अर्ब रुपैयाँ घाटा हुने, लाेडसेडिङ भने नहुने घिसिङकाे दाबी

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत आयातमा समस्या देखिए पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतमा बिद्युतको मूल्य उच्च भएकाले खरिद नगर्दा केहि समस्या देखिएपनि लोडसेडिङ नहुने स्पष्ट पारेका हुन् । उनले केही दिनभित्रै समस्या समाधान हुने बताए ।

घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग बिजुली किन्न खोज्दा अत्यधिक महँगो परेको बताए । भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने उनले जानकारी दिए ।

हालको समस्या छोटो अवधिको रहेको भन्दै उनले महँगोमै बिजुली किनेर भए पनि सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने बताए । रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य बृद्धि हुनपुगेको उनले बताए । त्यस्तै, उनले जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने दाबी गरे ।

उनले अहिलेको बेस लोड करिब ११ सय ५० मेघावाट रहेको भन्दै विभिन्न आयोजनामार्फत् विद्युत आपूर्ति सहज हुने विश्वास व्यक्त गरे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१