यस्ताे रहनेछ देउवाकाे भारत भ्रमण

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जान लागेका छन् ।

चैत १८मा अपरान्ह ४ बजेतिर प्रधानमन्त्री देउवा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मा देउवाको भ्रमण तयारीका लागि सोमबार दिल्ली पुगेर कार्यभार सम्हालिसकेका छन् । चैत १८ गते साँझ नेपाली दूतावासले आफ्नो प्राङगणमा प्रधानमन्त्री देउवाको स्वागत सम्मानमा डिनर कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री देउवा पूर्ण रूपमा औपचारिक भेटवार्तामा व्यस्त हुने कार्यतालिका रहेकाे छ । शनिबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठक गर्नेछन् । देउवा र मोदीले संयुक्त रुपमा भर्चुअली जनकपुर–जयनगर रेल्वेको उद्घाटन गर्नेछन् ।

भारतीय समकक्षीसँग देउवाको विभिन्न विषयमा औपचारिक कुराकानी समेत हुनेछ । त्यसमा सीमा समस्या, बिजुली आयात/निर्यात, मलको सहज आपूर्ति, व्यापारलगायतका विषय हुनेछन् ।

त्यसपछि हैदरावाद हाउसमा मोदीले दिएको लञ्चमा देउवाको सहभागिता रहनेछ । देउवाले भारतीय विदेश मन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट्ने छन् । अन्त्यमा उपराष्ट्रपति एम.वेंकय्य नायुडसँगको भेटघाट हुनेछ ।

भ्रमणकाे दाेस्राे दिन अपरान्ह ४ बजेसम्म प्रधानमन्त्री देउवाको व्यस्तता औपचारिक भेटघाटमै बित्नेछ ।

साँझ भारतीय उद्योगी व्यवापारीहरुसँग देउवाकाे भेटघाट हुनेछ ।

तेस्रो दिन आइतबार बिहान देउवा उत्तर प्रदेशको बनारसका लागि प्रस्थान गर्नेछन् । देउवाले त्यहाँ काशी विश्वनाथ मन्दिर, नेपाली पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यही दिन अपरान्ह प्रधानमन्त्री देउवा काठमाडौं फर्किनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१