
काठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवान र हवल्दारले १६ वर्षमै पेन्सन पाउने भएका छन् ।
प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयबाट दुवै संगठनमा कार्यरत प्रहरी जवान र हवल्दारको पेन्सन अवधि १६ वर्ष हुनुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको थियो ।
उक्त प्रस्ताव गृह मन्त्रालयले स्वीकृत गरेर मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको स्राेतले जानकारी दिएकाे छ ।
प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको भने १८ वर्षमा पेन्सनका लागि प्रस्ताव गरिएको छ । यस्तै, प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मका सबैको पेन्सन भने २० वर्षमै कायम हुनेछ ।
२६ चैत २०६० पछि प्रहरीमा भर्ना भएका प्रहरीले यो सुविधा पाउनेछन् । प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । यसका लागि प्रहरी नियमावलीको नियम १३१ मा संशोधन गर्ने तयारी गरिएको छ ।