त्याे सुन खानीकाे इतिहास जसमा बन्याे ‘केजीएफ’ चलचित्र

कोलार गोल्ड फिल्डको इतिहास, जहाँबाट आयो १२१ वर्षमा ९०० टन सुन बाहिर


‘उनीहरुलाई भनिदेउ, म आफ्नाे केजीएफ लिन आउँदैछु’ केजीएफ–२ मा अभिनेता सञ्जय दत्तको यो संवाद अहिले निकै चर्चामा छ ।

दर्शकमाझ रुचाइएको यस चलचित्रको ट्रेलर भर्खरै सार्वजनिक भएको छ । ट्रेलर रिलिज हुनासाथ सामाजिक सञ्जालमा तहल्का मच्चिएकाे छ । यसको भिडियो दुई दिनमा युट्युबमा ६२ करोड मानिसले हेरिसकेका छन् ।

फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ । त्यसैले यो चलचित्रको चर्चा सामाजिक सञ्जाललगायत सबैतिर चर्को रुपमा भइरहेको छ ।

फिल्ममा कन्नड सुपरस्टार यश मुख्य भूमिकामा छन् । साथमा, संजय दत्त, रविना टण्डन र प्रकाश राज जस्ता ठूला कलाकारहरू पनि छन् ।

यो फिल्म मूलतः कन्नड भाषामा मात्र बनेको थियो । यस फिल्मको पहिलो भाग हिन्दीसहित कन्नड, तेलुगु र तमिलमा २१ डिसेम्बर २०१८ मा रिलिज भएको थियो । त्यसपछि यो फिल्मको देशभर प्रशंसा भयो । त्यसबेलादेखि दर्शकहरु यसको दोस्रो भागको प्रतीक्षामा छन् ।

केजीएफको इतिहास

केजीएफ अर्थात् कोलार गोल्ड फिल्ड्स कर्नाटकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित छ । रोबर्टसनपेट दक्षिण कोलार जिल्लाको मुख्यालयबाट ३० किलोमिटरको दूरीमा रहेको एउटा तहसील हो, जहाँ यो खानी अवस्थित छ ।

बैंगलोर-चेन्नई एक्सप्रेसवेमा, बैंगलोरबाट पूर्वतिर १०० किलाेमिटरमा केजीएफ टाउनशिप छ । समाचार वेबसाइट ‘द क्विन्ट’ ले आफ्नो एक रिपोर्टमा केजीएफको गौरवशाली इतिहासको बारेमा लेखेको छ ।

यस रिपोर्टका अनुसार सन् १८७१ मा न्युजिल्यान्डबाट भारत आएका बेलायती सैनिक माइकल फिट्जगेराल्ड लेभालीले बैंगलोरमा आफ्नो घर बनाएका थिए । त्यतिबेला उनको अधिकांश समय पढाइमा बित्ने गर्दथ्यो ।

यसैबीच, उनले १८०४ मा एशियाटिक जर्नलमा प्रकाशित चार पृष्ठको लेख पढे । उक्त लेखमा कोलारमा फेला परेको सुनको बारेमा बताइएकाे थियाे । यो लेखका कारण कोलारप्रति उनको चासो बढ्यो ।

यस विषयमा पढ्दै गर्दा, लेभालीले बेलायती सरकारका लेफ्टिनेन्ट जोन वारेनको लेख फेला पारे । लेभालीबाट प्राप्त जानकारी अनुसार १७९९ को श्रीरंगपट्टनमको युद्धमा टिपु सुल्तानलाई मारेर अंग्रेजहरूले कोलार र वरपरको क्षेत्र कब्जा गरेका थिए ।

केही समय पछि अंग्रेजहरूले यो भूमि मैसूर राज्यलाई दिए, तर तिनीहरूले सर्वेक्षणको लागि कोलारको भूमि भने आफ्नो साथमा राखेका थिए ।

सुनकाे खाेजी

चोल साम्राज्यमा मानिसहरू हातले जमिन खनेर सुन निकाल्ने गर्दथे । बेलायती सरकारका लेफ्टिनेन्ट वारेनले सुनको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने घोषणा गरे ।

त्यो घोषणाको केही दिनपछि, केही गाउँलेहरू गोरुगाडामा वारेनलाई भेट्न आए । त्यो गाेरुगाडामा कोलार क्षेत्रको माटो लत्पतिएकाे थियो । गाउँलेहरूले वारेनको अगाडि माटो धोएर हटाए, त्यसपछि त्यहाँ सुनका टुक्राका अंशहरु भेटिए ।

त्यसपछि वारेनले यसबारे अनुसन्धान थाले । कोलारका जनताले हातले सुनको उत्खनन् गर्ने तरिकाबारे पनि उनले थाहा पाए । ५६ किलो माटोबाट मनग्य सुन निकाल्न सम्भव भएको वारेनले थाहा पाए ।

वारेनलाई लाग्याे ‘यी मानिसहरूको विशेष सीप र प्रविधिको मद्दतले थप सुन निकाल्न सकिन्छ ।’

वारेनको यो प्रतिवेदनपछि सन् १८०४ देखि १८६० सम्म यस क्षेत्रमा धेरै अनुसन्धान र सर्वेक्षण भए पनि त्यसबाट अंग्रेजी सरकारले केही पाएन । यस अनुसन्धानका कारण केही लाभ मिल्नुको सट्टा धेरैले ज्यान गुमाए । त्यसपछि त्यहाँ उत्खनन्‌मा प्रतिबन्ध लगाइयो ।

यद्यपि, १८७१ मा वारेनको रिपोर्ट पढेपछि लेभालीले कोलारकाे सुनखानीका विषयमा रुची राखे ।

लेभालीले बैंगलोरदेखि कोलारसम्मको १०० किलोमिटरको दुरी गाेरुगाडामा पार गरे । त्यहाँ करिब दुई वर्ष अनुसन्धान गरिसकेपछि १८७३ मा लेभालीले मैसूरका महाराजासँग उक्त ठाउँमा उत्खनन् गर्न अनुमति मागे ।

लेभालीले २० वर्षसम्म कोलार क्षेत्रमा उत्खनन् गर्ने अनुमति पाए । त्यस पछि १८७५ मा उक्त समइटमा काम सुरु गरे ।

सुरुका केही वर्षहरू लेभालीको धेरैजसो समय पैसा उठाउन र मानिसहरूलाई काममा लगाउनमा खर्च भयाे । धेरै मुस्किल पछि केजीएफबाट सुन निकाल्ने काम सुरु भयो ।

केजीएफ : बिजुली भएको भारतको पहिलो शहर

केजीएफ खानीहरूमा, पहिले टर्च र मट्टितेल जलाउने लालटेनहरूद्वारा प्रकाश प्रदान गरिएको थियो । तर यो प्रयास अपर्याप्त थियो । त्यसैले त्यहाँ बिजुली प्रयोग गर्ने निर्णय गरियो ।

यसरी केजीएफ बिजुली प्राप्त गर्ने भारतको पहिलो शहर बन्यो ।

त्यहाँबाट १३० किलोमिटर टाढा रहेको कोलार गोल्ड फिल्डको बिजुलीको आवश्यकता पूरा गर्न कावेरी पावर स्टेशन निर्माण गरिएको थियो । यो जापानपछि एशियामा बनेकाे दोस्रो ठूलो पावर प्लान्ट हाे । यो वर्तमान कर्नाटकको मण्ड्या जिल्लाको शिवन समुद्रमा बनाइएको थियो ।

केजीएफ भारतको पहिलो शहर थियो, जहाँ बिजुली पूर्ण रूपमा पुग्यो । पानीबाट बिजुली बनेपछि त्यहाँ सधैं बिजुली आउन थाल्यो । सुनको खानीका कारण बैंगलोर र मैसूरको सट्टा केजीएफले प्राथमिकता पायो ।

बिजुली आएपछि केजीएफमा सुनको उत्खनन् बढेको हो । त्यहाँ, उत्खनन् गति बढाउन प्रकाशको व्यवस्था गरेर धेरै मेसिनहरू प्रयोग गरियो । फलस्वरूप, १९०२ सम्म, केजीएफले भारतको ९५ प्रतिशत सुन निकाल्न थाल्यो । सन् १९०५ मा भारत सुन खानीको हिसाबले विश्वको छैटौँ स्थानमा पुगेको थियो ।

केजीएफ बन्याे सानाे इंग्ल्याण्ड

केजीएफमा सुन पाएपछि त्यहाँको रुप नै फेरियो । त्यतिबेलाको ब्रिटिश सरकारका अफिसर र इन्जिनियरहरूले त्यहाँ आफ्नो घर बनाउन थाले ।

त्यहाँको वातावरण बस्नका लागि उपयुक्त भएकाले मानिसहरूलाई मन पर्न थाल्यो । बेलायती शैलीमा बनाइएका घरहरू हेर्दा यो इङ्गल्याण्डको जस्तो लाग्थ्यो ।

डेक्कन हेराल्डका अनुसार, यही कारण केजीएफलाई ‘लिटिल इङ्गल्याण्ड’ भनिन्थ्यो।

केजीएफमा पानीको आवश्यकता पूरा गर्न, ब्रिटिश सरकारले नजिकै पोखरी निर्माण गर्‍यो । त्यहाँबाट केजीएफसम्म पानीको पाइपलाइनको व्यवस्था गरिएको थियो । पछि त्यही पोखरी त्यहाँको आकर्षणको केन्द्र बन्यो ।

बेलायती अधिकारी र स्थानीय नागरिक त्यहाँ पर्यटनका लागि जान थाले । अर्कोतर्फ सुन खानीका कारण छिमेकी प्रदेशबाट पनि त्यहाँ कामदारको चाप बढ्न थाल्याे ।

सन् १९३० पछि यो ठाउँमा ३० हजार मजदुर काम गर्थे । ती मजदुरका परिवारहरू नजिकै बस्थे ।

केजीएफको राष्ट्रियकरण

देश स्वतन्त्र भएपछि यो ठाउँ भारत सरकारले आफ्नो कब्जामा लिएको थियो । करिब एक दशकपछि सन् १९५६ मा यो खानी राष्ट्रियकरण भयो ।

सन् १९७० मा भारत सरकारको भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले त्यहाँ काम गर्न थाल्यो ।

प्रारम्भिक सफलता पाएपछि कम्पनीको नाफा दिन प्रतिदिन घट्दै गयो । सन् १९७९ पछि यस्तो अवस्था आयो कि कम्पनीसँग कामदारलाई तलब दिने पैसा नै थिएन ।

८० को दशकमा केजीएफकाे प्रदर्शन निकै खराब हुन पुग्याे । सोही क्रममा धेरै कर्मचारीलाई बाहिरको बाटो देखाइयो । कम्पनीको घाटा पनि बढ्दै गयाे । समय यस्तो आयो जब त्यहाँबाट सुन निकाल्न जति रकम खर्च हुने गरेको थियो त्यो सुनको मूल्यभन्दा बढी हुन पुग्याे ।

यही कारण सन् २००१ मा भारत गोल्ड माइन्स लिमिटेड कम्पनीले त्यहाँ सुन खानी बन्द गर्ने निर्णय गर्‍यो । त्यसपछि त्यो ठाउँ एक भग्नावशेष बन्यो ।

पुनः सुरु हुने संकेत

केजीएफमा उत्खनन् १२१ वर्ष भन्दा बढी समय सम्म चल्यो । त्यहाँ उत्खनन् सन् २००१ सम्म जारी थियो ।

एक रिपोर्टका अनुसार ती १२१ वर्षमा त्यहाँको खानीबाट ९०० टनभन्दा बढी सुन निकालिएको थियो । खानी बन्द भएपछि केजीएफमा १५ वर्षसम्म सबै कुरा ठप्प रह्यो ।

नरेन्द्र मोदी सरकारले २०१६ मा त्यही ठाउँमा पुनः काम सुरु गर्ने संकेत गरेको थियो । केजीएफको खानीमा अझै धेरै सुन रहेको बताइएको छ ।

२०१६ मा, केन्द्रीय सरकारले केजीएफलाई पुनर्जीवित गर्न लिलामीको प्रक्रिया सुरु गर्ने घोषणा गरेकाे छ । तर, घोषणापछि अब के हुन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

-बीबीसी हिन्दीबाट

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१