• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

चीन पुगे किम जाेङ उन ! किन खास छ उनकाे रहस्यमय हरियो रेल ?

काठमाडाैं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विशेष रेल चढेर चीन पुगेका छन् । उनले मङ्गलबार बिहान उत्तर कोरियाबाट चीनको सीमा नाघेका हुन् ।

उनी सोमबार राजधानी प्योङयाङबाट चीनका लागि प्रस्थान गरेका थिए । दोस्रो विश्वयुद्धमा जापानले पराजय व्यहोरेको अवसरमा चीनले आयोजना गर्न लागेको सैन्य परेडमा सहभागी हुन किम चीन पुगेका हुन् ।

उत्तर कोरियाली अखबार रोडोङ सिन्मुनले सैन्य परेडलाई किमले सहभागिता जनाउने सबैभन्दा ठूलो बहुपक्षीय कूटनीतिक समारोह भनेको छ । यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २६ मुलुकका प्रतिनिधि सहभागी छन् ।

उत्तर काेरियाबाट रेलमा चीन पुगेका किमका तस्बिरहरु सार्वजनिक भएका छन् । तस्बिरमा उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुईसँग किम विशेष रेलमा बसिरहेको देख्न सकिन्छ । उनको पछाडि उत्तर कोरियाको झण्डा रहेको छ भने टेबलमा बन्द ल्यापटप छ । अर्को फोटोमा हरियो रेलबाहिर किमले चुरोट हातमा लिएको पनि देखिएको छ ।

के खास छ हरियो रेलमा ?

उत्तर कोरियाली नेता किम जोङले प्रयोग गर्ने हरियो रेल संसारकै अद्वितीय यात्रासाधनका रूपमा चिनिन्छ । बाहिरबाट साधारण देखिने यो रेलभित्र भने विलासी होटलसरह सुविधा छ । यही कारण यो रेललाई ‘चल्ने पाँचतारे होटल’ पनि भनिन्छ ।

रेलभित्र शयनकक्षदेखि बैठक कक्ष, किचन, भोजन कक्ष, मनोरञ्जन हलसम्म सबै सुविधा उपलब्ध छन् । शयनकक्षमा बुलेट–प्रुफ झ्याल, गह्रौँ पर्दा हुन्छ । बैठक कक्षमा लेदर सोफा र आधुनिक सञ्चार प्रणाली जडान गरिएको छ। किमले यात्रा गर्दा विदेशी वाइन, स्वादिष्ट परिकार र ताजा फलफूल नियमित रूपमा आपूर्ति हुन्छ । रेलमै कराओके (संगीतसँगै गाउने खेल) र चलचित्र हेर्ने सुविधा पनि रहेको बताइन्छ ।

सुरक्षाको दृष्टिले यो रेललाई ‘मोबाइल फोर्ट्रेस’ अर्थात् चलायमान किल्ला मानिन्छ । सम्पूर्ण बगि बुलेट–प्रुफ स्टीलले ढाकिएका हुन्छन् । रेल अघि–पछि छुट्टै सुरक्षा ट्रेन पठाइन्छ भने रेल रोकिने प्रत्येक स्टेशनमा सेना र सुरक्षाकर्मी परिचालन हुन्छन् । यसमा उपग्रह फोन र कमाण्ड सेन्टरस्तरको सञ्चार प्रणाली पनि जडान गरिएको छ ।

यो परम्परा केवल किम जोङसँगै सुरु भएको होइन । उनका बाबु किम जोङ इल र हजुरबुवा किम इल सुंग पनि विदेश भ्रमणमा यही रेल प्रयोग गर्थे । किम जोङ इल त आफ्ना अधिकांश यात्रा रेलमै गर्थे र उनको अन्तिम क्षण पनि यही रेलमै भएको भनिन्छ । अहिले किम जोङले पनि विमानभन्दा बढी सुरक्षित ठानेर लामो दूरीको यात्रा गर्दा यही रेल रोज्ने गरेका छन् ।

विश्वका नेताहरू प्रायः विमानमार्फत यात्रा गर्ने गर्छन् । तर जब यो हरियो रेल अन्तर्राष्ट्रिय सीमामा देखा पर्छ, त्यसलाई केवल यात्राको साधन मात्र नभई किम जोङको शक्ति, परम्परा र पहिचानको प्रतीकका रूपमा हेरिन्छ ।