काठमाडाैं । एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै पुनः माओवादी केन्द्रमै फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि)ले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् । बुधबार भएको भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको बताएका थिए ।
डल्लाकोटीको भनाइ सुनेपछि प्रचण्डले अब काममा फर्किन निर्देशन दिएको प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए ।
तर उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए । माओवादीमा फर्केको घोषणा गरेका गाउँपालिका अध्यक्ष डल्लाकोटीले आज खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन् ।