• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विप्लवलाई केपी ओलीको ‘अफर’ : सूर्य चिन्हबाट चुनाव लड्नुहोस्

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’लाई सूर्य चिन्ह लिएर चुनावमा आउन ‘अफर’ गरेका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ वर्ष २०७९ को शुभकामना आदान-प्रदान कार्यक्रममा ओलीले यस्तो अफर गरेका हुन् ।

ओलीले सत्ता गठबन्धनले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न खोजेको आरोप पनि लगाए । उनले भने ‘विप्लव चुनावमा भाग लिने हाे भने आउनुस्, पार्टी तपाईँहरुकै रहन्छ, कार्यकर्ता तपाईँहरुकै रहन्छ, सूर्य चिन्हमा चुनाव लड्नुहाेस् । याे हो नि जित्ने तरिका ।’

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई षड्यन्त्रकारी नेताका रुपमा जनताले नचिन्ने भए पनि उनले अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग साँठगाठ गर्न लागेको आराेप लगाए ।

उनले ‘विप्लवलाई षड्यन्त्रकारी हाेइन एउटा इमान्दार नेताकाे रुपमा चिन्ने गरेकाे’ भनी त्याे छवी नबिगार्न आग्रह पनि गरे । उनले प्रचण्डकाे मतियार भएर काम नगर्नका लागि सुझाव पनि दिए ।

ओलीले माओवादी केन्द्र र माकुने गुट काँग्रेसको झिँगा धपाउने पुच्छर मात्र भएको टिप्पणी पनि गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको दाबी पनि गरे ।