• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

लिङ्देन लक्षित कमल थापाकाे ट्वीट : धैर्यता रहुन्जेल राजा बाेक्नाेस्, फर्किने सम्भावना छैन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना नरहेको बताएका छन् । राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्थाको एजेण्डासहित अघि बढिरहेको पूर्वपार्टी राप्रपाप्रति टिप्पणी गरी थापाले असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा नपार्न आग्रह पनि गरेका छन् ।

आफूलाई राजाको माया त लाग्ने भए पनि नफर्किने निष्कर्षका साथ आफूले राजा छोडेर हिन्दू राष्ट्रको अभियानमा लागेको भन्दै थापाले लिङ्देनको राप्रपा पनि विस्तारै आफ्नै लाइनमा आउने दाबी गरेका छन् ।

पछिल्लो समय राप्रपाको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह देखिन थालेपछि थापाको अभिव्यक्ति सार्वजनिक भएको हो । उनले भनेका छन् ‘नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरुलाई शुभकामना । राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ। विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ। तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो ।’

उनले पार्टीहरु असफल भएमा राजा नआउने तर्क पनि गरेका छन् । ‘पार्टीहरु असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ । राजा फर्कने अरु नै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए,’ उनले भनेका छन्, ‘अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन । असम्भव एजेण्डा बोकेर हिन्दु राष्ट्रलाई बन्धक बनाउन हुँदैन । २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन ।’

थापाले लिङ्देन नेतृत्वको राप्रपा आफूले समातेको बाटोमै आउनुपर्ने जिकीरसमेत गरेका छन् । ‘अहिले गालि गलौज/आरोपहरु खेपेर भए पनि तपाईंहरुको लागि म बलियो घर बनाएर राखिदिनेछु । पहिले पनि मैले बनाएकै घरमा तपाईंहरु आएको हो । त्यहाँ अझै केही समय रमाई राख्नोस्,’ उनले भनेका छन् । थापाले राजसंस्थाप्रति आफ्नो सम्मान सदैव रहिरहने पनि स्पष्ट पारेका छन् ।

नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरुलाई शुभकामना।
राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरुसँग मेरो गुनासो,वैमनस्यता छैन।तपाईंहरुको धैर्यता रहुञ्जेल राजा बोक्नोस्,मेरो शुभकामना छ।विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ।तितो लाग्ला,अब राजा फर्कने संभावना सकियो

— Kamal Thapa (@KTnepal) April 16, 2022