काठमाडौं । सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँडमा समस्या देखिएको छ ।
बालुवाटारमा आइतबार बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा सहमति हुन नसकेको हो ।
बैठकपछि सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको छलफल लम्विएको जानकारी दिए । यस विषयमा सोमबार पुन छलफल हुने उनले बताए । बैठकमा कुन–कुन स्थानीय तहमा कसरी उमेदवार खडा गर्ने भन्ने छलफल भएको उनले जानकारी दिए ।
बालुवाटार स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले महत्वपूर्ण स्थानमा दावी गरेपछि समस्या उत्पन्न भएको हो ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । तर कुन तहमा कसलाई उठाउने भन्ने निष्कर्षमा पुग्न सकेका छैन ।