• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कर्ण मल्ल भन्छन्- गगन थापालाई ‘ट्युसन’ पढाउन सक्छु

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन् ।

बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बिपीले स्थापन गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो अर्थात घोषणापत्र नै नभएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए ।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु,’ मल्लले भने ।

उनले बिपीले स्थापना गरेको मेनिफस्टो र अहिलेको मेनिफस्टो मिल्छ? भनेर थापालाई ट्युसन पढाउन र बहस गर्न सक्ने दाबी गरे ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए ।

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो ।