नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो ।
कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् ।
मेयरका स्वतन्त्र उमेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैँची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्धव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन् ।
दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् । गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।
यस्तै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाटै निर्वाचन चिह्न दिने तयारी गरेको छ ।
देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिने भएको हो ।
४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् ।
आयोगगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
६ वटा राष्ट्रिय दलले भने आफ्नै निर्वाचन चिह्न प्राप्त गर्नेछन् । ती दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी हुन् ।
राष्ट्रिय मान्यता प्राप्त दलले दलकै चिह्न पाउने व्यवसथा स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख छ ।
राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राप्रपा, विवेकशील साझा पार्टीलगायत २३ दलले पनि आफ्नै निर्वाचन चिह्न पाउने आयोगले जनाएको छ ।समानुपातिक प्रणालीतर्फ यसअघि सहभागी नभएका दलसँगै राप्रपा नेपाल, जनमत पार्टीसहितका ४० वटा दलले पनि दलकै चिह्न पाउने भएका छन् ।
