• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

नेरुमा भन्दा डलरका आधारमा गाडीको कर निर्धारण गर्नु व्यावहारिक: नाडा

काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसनको अफ नेपाल (नाडा) ले सवारी साधनहरूको मूल्य स्थिरताको लागि नेपाली रुपैयाँमा भन्दा डलरका आधारमा कर निर्धारण गर्नु व्यावहारिक हुने बताएको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेटका सम्बन्धमा धारणा सार्वजनिक गर्दै नाडाले कर निर्धारणमा बजेटले गरेको व्यवस्थाप्रति असन्तुष्टि जनाएको हो ।

नाडाले सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेकामा यसले विद्युतीय लगायत इन्धनबाट चल्ने सवारी साधनहरूको मूल्य बढाउने बताएको छ ।

“नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको दुई दशक भइसकेको र नेपाल कम विकसित राष्ट्रबाट स्तरोन्नति भएर विकाशशील राष्ट्रमा परिणत हुँदै गरेको सन्दर्भमा नाडाले न्यूनतम रूपमा सवारी साधनहरूमा सरकारले थप कर वृद्धि नगर्ने अपेक्षा राख्दै आएको थियो,” नाडाले भनेको छ ।

यस्तै मोटर पिक पावरको आधारमा महसुल दर कायम रहँदै आएकोमा बजेटले कारोबार मूल्यको आधारमा महसुल लगाउने व्यवस्था गरेसँगै अब प्राय सबै किसिमका सवारी साधनहरूको मूल्य बढ्ने जनाइएको छ ।

नाडाले बजेट केही महत्त्वाकाङ्क्षी देखिए पनि कार्यान्वयन प्रभावकारी हुन सके देशको अर्थतन्त्र नै गतिशील हुनेमा सन्देह नरहेको समेत उल्लेख गरेको छ ।