• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

म्यादी प्रहरी हुँ भन्दै सामाजिक संजालमा भाइरल युवक पक्राउ

काठमाडौँ । फेसबुक र टिकटकमा म्यादी प्रहरीको पोशाकमा भिडियो बनाएर भाइरल भएका एक युवक कपिलवस्तुबाट पक्राउ परेका छन्। पक्राउ परेका युवक कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ हो।

म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका छन् । सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’

प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् । रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ। पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।