‘ब्युटी पेजेन्ट’ आयाेजकबाट बलात्कार भएकाे दाबीसहितकाे भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आएकाे तरंग

काठमाडौं । एक युवतीले भिडियो सार्वजनिक गर्दै आफूमाथि महिनौंसम्म बलात्कार र यौन दुर्व्यवहार भएको दाबी गरेकी छन् ।

टिकटकमा ‘सुुसी खान जाने हो’ ह्यान्डलबाट ती युवतीले सन् २०१४ मा भएको मिस ग्लोबल नामक ब्युटि पेजेन्टका आयोजकले आफूलाई पटक–पटक बलात्कार गरेको आरोप लगाएकी हुन् ।

त्यसबेला आफू १६ बर्षको मात्र रहेको र ब्युटि पेजेन्ट आयोजना गर्ने ब्यक्तिले आफूलाई ‘सक्सेस पार्टी’ मा बोलाएर पेय पदार्थ खुवाइ बेहोस बनाएर बलात्कार गरेको उनको दाबी छ । त्यसक्रममा उक्त ब्यक्तिले आफ्नो नग्न तस्बिर र भिडियो खिचेको र घटनाबारे बताए तस्बिर र भिडियो सार्बजनिक गरिदिने भन्दै ६ महिनासम्म पटक–पटक बलात्कार गरेको उनको भनाइ छ ।

त्यसबेला सहयोगको आशासहित घटनाबारे धेरै जनालाई भने पनि खासै सहयोग नपाएकाले आफ्नै गल्ती रहेछ भनेर चुप लागेको उनको भनाइ छ ।

घटनाबाट आफू विक्षिप्त भइ आत्महत्या गर्नेबारे समेत सोचेको उनले बताएकी छन् । त्यसपछि चुरोट र गाँजा खाने लतमा फसेको र तर त्यो समस्या समाधान नभएको निष्कर्ष आफूले निकालेको र अहिले अध्ययन र थेरापीलाई सँगै अघि बढाइरहेको उनले उल्लेख गरेकी छन् ।

उनले ती ब्यक्तिको परिचय भने खुलाएकी छैनन् । उनी कन्सल्टेन्सी सञ्चालक रहेको र उनलाई एक जना फोटो पत्रकारले पनि साथ दिएको उनले बताएकी छन् । यसबारेमा त्यसबेला एक जना पूर्व मिस नेपाललाई पनि जानकारी गराएको तर उनले कुनै सहयोग नगरेको ती युवतीले बताएकी छन् । उनको यो भिडियो सार्वजिक भएपछि धेरैले यसबारे मुख खोलेका छन् र घटनाबारे छानबीन गरी कारबाही गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

उनले अपलोड गरेका भिडियो टिकटकले हटाए पनि डाउनलोड गरिएका भिडियोहरु छन् । जहाँ उनको भनाइको क्लिपहरु यस्ता छन् :

म छ/सात बर्षको हुँदा नै तीन–चार वटा फिल्म खेलेको थिएँ । त्यसैले पनि म ठूलो भएपछि मोडल वा नायिका हुन्छु भन्ने सोच्थें । १२ कक्षाको बोर्ड एक्जाम सकिएपछि म एउटा अडिसनको लागि गएँ । जहाँ म छनोट भएँ । त्यहाँको फोटोहरु बाहिर आएपछि मलाई एकदिन एउटा म्यासेज आयो । जसमा फोटो सुट गरौं भन्ने प्रस्ताव गरिएको थियो । म खुशी भएँ, किनकी म मोडल बन्न चाहन्थें । म फोटो खिच्नका लागि तयार भएँ । उसले बोलाएको ठाउँमा गएँ । मलाई बोलाउने मान्छे र एक जना फोटोग्राफरले मेरो फोटोहरु खिचे । मलाई पाँच हजार रुपैयाँ पनि दिए । फोटो पत्रकार चर्चित थिए । म उनको नाम लिन चाहन्नँ ।

मलाई फोटोका लागि बोलाउने मान्छेले मलाई ‘ब्युटि पेजेन्ट’ आयोजना गर्न लागेको जानकारी दियो । म त्यसअघि पनि सहभागी थिएँ । एक जना पूर्व मिस नेपाल पनि हाम्रो कोरियोग्राफर थिइन् । तर म कसैको नाम लिन चाहन्नँ किनभने मसँग अहिले ती कुनै प्रमाणहरु छैनन् । मैले त्यसबेलाका म्यासेज फोन रेकर्डहरु सबै डिलिट गरिसकें । जुन सुनेर धेरै पटक एक्लै रोएँ । मलाई तिनले साह्रै तनाब दिए । त्यसैले मैले ती सबै डिलिट गरिदिएँ । सन् २०१८ तिर होला जस्तो लाग्छ । तपाईहरुले मेरो कुरा बुझ्नुहुन्छ होला । त्यसैले मलाई नाम सार्वजनिक गर्न बाध्य नबनाउनु होला । मैले भनें कि मसँग अहिले त्यसबारे कुनै प्रमाणहरु छैनन् ।

मैले त्यो ब्युटि पेजेन्टमा भाग लिएँ र फर्स्ट रनर अप भएँ । म खुशी भएँ । अर्को दिन मलाई त्यहि मानिसको फोन आयो जसले मेरो फोटोसुट र ब्युटि पेजेन्ट आयोजना गरेको थियो । पेजेन्टको इभेन्ट सक्सेस पार्टी आयोजना गरेकाले तयार भएर एभरेष्ट होटल आउन भनिएको थियो । म होटल पुग्दा अरु कोही पनि थिएनन् । मैले अरु खोइ भनेर सोधें । उसले पार्टी ६–७ बजेबाट मात्र शुरु हुने भएकाले अहिले बस्दै गर्न भन्यो । केहीबेरमा वेटर आयो र मलाई लेमनेटको अफर गर्‍यो । लेमनेट विथ आइस थियो । मैले खाएँ । तर त्यसको १०–१५ मिनेटमा मैले असहज महसुस गरें । ‘ब्राउजी फिल’ भएपछि मैले घर जान्छु भनेँ । उसले तिमी विनर भएर सक्सेस पार्टीमा यस्तो गर्ने ? अरुले, मिडियाले के भन्छ भन्ने खालको कुरा गर्‍याे । मलाई हो कि जस्तो पनि लाग्यो ।

उसैले आज केटीहरुले पनि ड्रिङ्क्स गर्ने भएकाले केही समस्या होला कि भनेर यहिँ होटलमा एउटा कोठा लिएको छु । त्यहाँ गएर रेस्ट गर्दै गर अरु पनि आइसकेपछि म तिमीलाई लिन कसैलाई पठाउँछु भन्यो । म रुममा गएँ । म अर्धहोशमा थिएँ । बेलाबेला मात्र मेरो होश आइरहेको थियो ।

सोच्नुहोस कि म त्यो बेला जम्मा १६ बर्षको थिएँ । मेरो नागरिकता पनि बनेको थिएन । साढे ४ साढे ५ बजेतिर मेरो होश खुल्यो । जतिबेला मेरो छेउमा ऊ पूर्णतया नाङ्गै सुतेको थियो । म पनि पुरै नाङ्गै थिएँ । बेडमा रगत लागिरहेको थियो । म एकदम धेरै रोएँ ।

म नाङ्गै थिएँ । उसले मेरो फोटो, भिडियो खिचिसकेकाले केही भने अरुले पनि थाहा पाउने धम्की दियो । ब्यागमा २० हजार रुपैया राखिदिएको कुरा गर्‍यो । उसले मैले पैसा चाहिएकोले मैले नै उसँग शारीरिक सम्पर्क राखेको जस्तो कुरा गर्‍यो । ६ महिनासम्म यो भइरह्यो । उसले उसको साथीसँग पनि उसको अगाडि मलाई सुत्न लगायो । उसले मलाई के–के गर्न लगायो भन्ने कुरा सबैलाई भन्दिनँ । किनभने त्यो सुन्दा तपाईहरुलाई पनि एकदमै नराम्रो लाग्न सक्छ । म एकदमै अप्ठ्यारो स्थितिमा थिएँ । त्यसबेला मैले आत्महत्या गर्ने बारेमा पनि सोचें ।

म अति नै टुटेको थिएँ । अनि अत्ति भएपछि त्यसबेला म जोसँग सम्बन्धमा थिएँ उसलाई मैले सबै कुरा सुनाएँ । उसले मलाई पहिले किन यो कुरा नभनेको भन्यो । त्यसपछि त्यो मान्छेको एउटा कन्सल्ट्येन्सी पनि छ । जहाँ म र मेरो त्यसबेलाको ब्वाइफ्रेण्ड गयौँ ।

उसको अफिसमा आएको अरु मान्छेहरुलाई बाहिर पठाएर हामीले उसका कर्मचारीलाई मात्र राखेर सबै कुरा भन्यो टेक्स मेसेज र अडियो रेकर्ड सुनायौं । मेरो ब्वाइफ्रेण्डले उसलाई कुट्यो । मैले पिट्न पाइनँ । मलाई एकदमै पिट्न मन थियो । मेरो बिचारमा मैले एक थप्पड मात्र हानें होला उसलाई । त्यो कन्सलट्यान्सी बाहिरको केटाहरु पनि सबै बार्दलीमा आएर हेरेका थिए । यो घटनाबाट आफू अति नै विचलित भएर आत्महत्या समेत गर्नेबारे सोचेको र चुरोट गाँजाको कुलतमा फसेको तर अहिले त्यो लतबाट हटेर अध्ययन र थेरापी गरिरहेकी छु ।

शृंखला खतिवडाकाे साथ

भिडिओ सार्वजनिक भएपछि पूर्व मिस नेपाल शृंखला खतिवडाले भने ती युवतीमाथि भएको घटना सुनेर आफूलाई दु:ख लागेको बताएकी छन् । इन्स्टाग्राम स्टोरी र ट्विटमार्फत उनले आफू उनको साथमा रहेको बताएकी छन् । आफू लगायतको समाजले उनलाई सुरक्षा र उनीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने वातावरण दिन नसकेकोमा खतिवडाले दु:ख व्यक्त गरेकी छन् ।

माल्भिका सुब्बाकाे प्रतिक्रिया

उक्त भिडियोमा पीडकपछि सबैभन्दा धेरै विवादमा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि मुछिएकी छिन् । सामाजिक सञ्जालमा माल्भिकामाथि विभिन्न टीका टिप्पणी हुन थालेपछि उनले लामो स्टेटस लेखेर ती युवतीसँग माफी मागेकी छिन् ।

उनले लेखेकी छिन्, ‘सामाजिक मिडियामा निकै निडर भएर आफूमाथिको दुर्व्यवहारबारे बताउने उनीप्रति गरेको व्यवहारका लागि म माफी माग्छु । मैले जे गरेँ, मलाई थाहा छ, त्यो माफीको लायक छैन । त्यसैले म हृदयदेखि नै माफी माग्न चाहन्छु । मलाई त्यतिबेलाको सबै जानकारी त याद छैन तर तिमीले मलाई फोन गरेको र आफूमाथि जे भयो, त्यसबारे कुरा गर्न खोजेको भने याद छ । तिमीलाई मेरो सबैभन्दा बढी आवश्यकता भएको बेलामा मैले कुरा गर्न नखोजेको पनि मलाई याद छ । यो माफीको लायक छैन । तर म के भन्न चाहन्छु भने तिमीलाई राम्रोसँग नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई समर्थन नगरेकोमा म माफी माग्न चाहन्छु ।’

यद्यपि, तिमीले त्यतिबेला ‘बलात्कार’ भन्ने शब्द प्रयोग गरेको र तिमीले भनेको जस्तै गरी मैले प्रतिक्रिया दिएको भन्ने स्मरण भने छैन । तर तिमीले अहिले आफू बलात्कृत भएँ भनेको सुन्दा म विक्षिप्त भएँ र म तिमीलाई विश्वास गर्छु । अब मैले आफैँलाई हेर्ने दृष्टिकोणमा भिन्नता आएको छ । तिम्रो पोस्ट हेर्दा र जे जति भयो त्यसका लागि म मात्रै जिम्मेवार छु भन्ने थाहा पाउँदा मैले आफैँले आफैलाई माफी दिन सक्दिनँ ।’

‘मलाई थाहा छ, ढिला भइसक्यो तर तिमीलाई अब म जतिसक्दो सहयोग गर्छु र तिम्रो माफीको लायक हुनेछु । सबैभन्दा ठूलो कुरा तिमी यसबाट बाहिर निस्किएको, म हेर्न चाहन्छु । यसका लागि तिमीलाई मबाट जे जति सहयोग चाहिन्छ, म त्यो गर्न चाहन्छु । तिमी यसबाट पूर्ण रुपमा बाहिर ननिस्किएसम्म म नारीवाद र यौन हिंसासम्बन्धि प्लेटफर्मबाट टाढै रहनेछु । म सार्वजनिक रुपमा कमै देखिँदा तिमीलाई शान्ति मिल्छ भने म त्यो गर्न पनि तयार छु । तिमीले मलाई भेटेरै आफ्नो रिस पोख्न मन लागेको छ र मैले तिमीलाई भेटेरै माफी माग्दा तिमीलाई अलिकति राहत मिल्छ भने म त्यो गर्न पनि तयार छु । तिमीलाई निको हुन जे जति गर्नुपर्छ, म त्यो गर्न तयार छु ।’

फाेटाेपत्रकारकाे प्रतिक्रिया 

युवतीले भिडियोमा एक अनलाइनका फोटोपत्रकारको पनि नाम लिएकी थिइन् । ती फाेटाेपत्रकारले पनि आफ्नो सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका छन् । उनले उक्त भिडियोलाई आधार बनाएर आफ्नाे नाम र तस्बिर प्रयोग भएकोमा आफूलाई दुःख लागेको बताएका छन् ।

उनले आफू पेशाले व्यावसायिक फोटोग्राफर भएको र आफ्नो धर्म निभाउने क्रममा ती युवतीकाे पनि फोटोसुट गरिदिएको र त्यसबापत् पारिश्रमिक लिएको बताए । उनले लेखेका छन्, ‘यसमा मेरो संलग्नता भनेको स्टुडियोमा फोटो खिचिदिने र त्यसवापत् पाण्डे(पीडक भनिएका व्यक्तिकाे थर) सँग पारिश्रमिक लिने हो । एजेन्सी र क्लाइन्टबीच के कति पारिश्रमिकमा कुरा भएको हुन्छ, त्यसमा मेरो कुनै सरोकार हुन्नँ ।’

उनले अन्तिममा समाजको कुनै पनि क्षेत्रमा यौन दुर्व्यवहारका घटना हुन नहुने र यस्ता घटनामा आफू सधैँ पीडितको पक्षमा उभिएको र सधैँ उभिरहने पनि बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१