
काठमाडाैं । घरपालुवा सुँगुर बंगुर तथा जंगली बँदेल प्रजातीमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग नेपालमा पनि देखा परेको छ ।
पशु सेवा विभागले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उक्त रोगको आशंकामा नेपालबाट अष्ट्रेलियाको रिफरेन्स प्रयोगशालामा परिक्षणका लागि पठाइएको नमूनामा अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा बिभागका महानिर्देशक डा. राम नन्दन तिवारीले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखापरेपछि नमूना संकलन गरि परिक्षणका लागि पठाइएको र जेठ दुई गते उक्त रोग पुष्टि भएको प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।
उनले रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वरी मनोहरा, किर्तिपुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र ललितपुरका केही क्षेत्रमा संक्रमण फैलिएको र यसबाट १ हजार १९ सुंगुर तथा बंगुर मरेको प्रतिवेदन प्राप्त भएको पनि बताए । तिवारीले नाका कडाई गर्दा पनि रोग पुष्टि भएको उल्लेख गरे ।
विभागले घरपालुवा सुंगुर बंगुरमा कुनै रोगको लक्षण देखिए तत्काल परिक्षण गर्न आग्रह गरेको छ ।
विगतमा यो रोग अफ्रिकी महादेशमा मात्र सिमित रहेकोमा सन २०१८ मा चीनमा देखापरे पश्चात क्रमश भारत र भुटानमा समेत देखा परेको विभागले जनाएको छ ।