• २०८३ असार २८
  • 2026 July 12, Sunday

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता, द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने सहमति

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणमा आइतबार काठमाडौं आइपुगेका छन्। भ्रमणको पहिलो दिन उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका छन्।

राष्ट्रपतिसँगको भेटमा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय विकास, कनेक्टिभिटी विस्तार लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले भारतलाई एक मित्र र निकट छिमेकी राष्ट्रको रुपमा स्मरण गर्दै सामाजिक, आर्थिक तथा प्राविधिक क्षेत्रमा भारतले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गरे। “एउटा उदाउँदै गरेको अन्तर्राष्ट्रिय शक्तिका रूपमा भारतले गरेको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौं,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपतिले नेपाल र भारतबीच शताब्दीयौंदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक सम्बन्धको चर्चा गर्दै सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए। भेटका क्रममा विदेश सचिव मिश्रीले भारत सरकार नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने बताउँदै, भ्रमणको अवसरमा दुबै देशबीच कनेक्टिभिटी, विकास र सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल हुने विश्वास व्यक्त गरे।

सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा नेपाल आएका हुन्। उनको भ्रमण आगामी भदौ ३१ गते हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ।

मिश्रीले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गरी भारत फर्किने कार्यक्रम छ। भ्रमणका क्रममा उनले आजै सबै प्रमुख भेटवार्ता सम्पन्न गर्ने तयारी गरिएको छ।