• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

अन्तर्घातको आरोपमा एमालेले गर्‍यो तीन नेतामाथि कारबाही

काठमाडौं । नेकपा (एमाले) ले पोखरा महानगरपालिकाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै तीन नेतामाथि कारबाही गरेको छ।

पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही गरेको हो ।

एमालेले तीन जना नेतालाई पार्टी संगठित सदस्यबाट निलम्बन गरेको कास्की जिल्ला कमिटीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्ति मार्फत जनाएका छन् ।

एमाले कास्कीले ३३ नं वडा कमिटीका उपाध्यक्ष महेश अर्याललाई कमिटीबाट हटाएको छ भने पोखरा–२१ का मनोज पहारी र ३३ का प्रशान्त आचार्यलाई संगठित सदस्यताबाट निलम्बन गरेको छ ।

पोखरा महानगरमा एमालेबाट छोडेका गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य विजयी भएका थिए भने एमालेका कृष्णबहादुर थापा पराजित भएका थिए ।