
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरीले चुनावको बेला सत्ता गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार भएको खुलासा गरेकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सांसद चौधरीले स्थानीय चुनावको ३ दिनअघि वैशाख २७ गते महोत्तरीको मटिहानीस्थित आफ्नो घरमा हातहतियारसहित आक्रमण भएको बताएकी हुन् । उनले आफूलाई न्यायकाे माग पनि गरेकी छन् ।
सांसद चौधरीले आफू घरबाट २० मिटर टाढा अर्का दाजुको घरमा रहेको बेला सत्ता गठबन्धनका उम्मेदवार र उनका समर्थकले दुर्व्यवहार गरेको बताइन् । उनले आफूलाई न्याय चाहियो भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्, ‘मलाई मार्ने उद्देश्यले उनीहरूले घर घेरा हालेर ८० वर्षकी मेरी आमालाई दुर्व्यवहार गरे । हातहतियार निकालेर यसलाई मार्नुपर्छ भनेपछि म मृत्युको मुखमा पुगेर ४० मिनेटपछि सशस्त्र प्रहरीका एसपीले उद्दार गरेपछि बाँचे । आज पनि त्यो घटना सम्झिँदा मलाई डर लाग्छ । मलाई न्याय चाहियो ।’
सांसद चौधरीमाथि नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार विजय चौधरी, जितेन्द्र चौधरी, निरज चौधरीलगायतले दुर्वव्यवहार गरेको आरोप छ ।