बिजुलीकाे तारमा हिँडेका पुरुषलाई उपचार गराउन परिवार असहमत, लगाइयाे संस्थाकाे जिम्मा

नुवाकाेट । नुवाकोटको ककनी गाउँपालिकास्थित त्रिशुली थ्री ए प्रशारण लाइनमा हिँडेका पुरुषको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ ।

शनिबार ८ घण्टापछि नेपाली सेनाका उद्धारकर्ताहरूले बेलकोटगढी नगरपालिका–७ घर भएका ४३ वर्षीय माइला बिकलाई हाइटेन्सनबाट उद्धार गरेका थिए ।

उद्धारपछि बिकलाई उपचारका लागि लगनखेलस्थित मानसिक अस्पतालमा पठाउन खोजिएको तर, परिवारले नमानेको नुवाकोट प्रहरीले जनाएकाे छ ।

परिवारले नमानेपछि उनकाे उपचारकाे लागि सामाजिक संस्थाको जिम्मा लगाइएकाे छ ।

प्रहरीले शनिवार राति नै उनलाई काठमाडौंमा पठाएको छ । माइला बिकलाई संरक्षणका लागि काठमाडौंको तार्केश्वर नगरपालिका–७ मा अवस्थित नवजिवन नामक संस्थाको जिम्मा लगाइएको प्रहरीकाे भनाइ छ ।

नवजिवनले बिकलाई खाने, बस्ने र मानसिक रोगका चिकित्सकबाट काउन्सेलिङ गर्ने व्यवस्था मिलाउने भएको छ । करिब १० महिनादेखि माइलाको मानसिक स्वास्थ्यमा समस्या देखिएको स्थानीयहरुको भनाइ छ ।

मानसिक समस्या देखिएपछि परिवारले उनलाई अपहेलना गरेका थिए । मानसिक अवस्था ठिक नभएपछि उनि गाउँमा यत्रतत्र डुलेर हिँड्थे ।​

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१