भारतकाे सहयाेगमा बन्याे सिन्धुलीमा शैक्षिक भवन

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–६ मा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन निर्माण भएकाे छ ।

उक्त भवनकाे भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले संयुक्त रुपमा उद्घाटन गरे ।

भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाख रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

यस सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को साझेदार संस्थाको रुपमा रहेको यस संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, यस इन्स्टिच्यूटले काठमाडौ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । यस इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ३० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिइएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१