भक्तपुरमा खानेपानीका जारभित्र कीरा र लेउ

काठमाडाैं । काठमाडौं उपत्यकाभित्रै हैजाको महामारी फैलिरहेका बेला सर्वसाधारणले पैसा तिरेर पिउने पानीमा पानी उत्पादक कम्पनीले लापरबाही गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रममा यस्तो लापबाही भेटिएको हो ।

सर्वसाधारणले प्रतिबोतल तथा जारलाई रु २० देखि रु ५० सम्म तिरेर पिउँदै आएका यहाँका विभिन्न खानेपानी कम्पनीले अत्यन्तै पुराना जार, कुहिएको लेउसमेत भेटिएका जारलाई अनुगमन टोलीले नष्ट गरेको छ ।

विभिन्न ब्रान्डका खानेपानीको जारभित्र कीरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता महासङ्घ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकारलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरी खानेपानीमा लापरबाही भएको पाइएको हो ।

यहाँका विभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौँको सङ्ख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। पुराना जारको अत्यधिक प्रयोगले पानीमा कीरा र लेउसमेत भेटिएकाले मानवीय स्वास्थ्यसँग खेलबाड गरेको पाइएको जनाउँदै उनले भेटिएका त्यस्ता जारलाई नष्ट गरी पानी उद्योगलाई सचेत गराइएको बताए ।

खानेपानी उद्योगहरूको गम्भीर गल्तीका कारण जनतालाई कीरा खुवाएर मानवीय स्वास्थसँग गम्भीर खेलवाड गरिरहेको समेत पुष्टि भएको भन्दै उनले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए ।

अनुगमनका क्रममा पानी उद्योगबाट दुईवटा उद्योगको पानी परीक्षणका लागि नमूना सङ्कलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७