युक्रेनी अनाज प्रशोधन केन्द्रमा रुसी हमलापछि अमेरिकाले भन्यो— अनाज निर्यात हुनेमा आशंका बढ्यो

न्युयोर्क । अमेरिकाले युक्रेनी ब्ल्याक सी बन्दरगाहमा रूसी मिसाइल आक्रमणको निन्दा गर्दै अनाज निर्यात पुनः सञ्चालन गर्न युक्रेन र रुसबीच भएको सम्झौतामा रुसी प्रतिबद्धताप्रति गम्भीर शंका उत्पन्न भएको जनाएको छ ।

‘आक्रमणले हिजोको सम्झौतामा रुसी प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका उत्पन्न गरेको छ । विश्व बजारमा खाद्यान्न उपलब्ध गराउन संयुक्त राष्ट्र, टर्की र युक्रेनको कार्यलाई नजरअन्दाज गरेको छ’, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

रुसले ओडेसा बन्दरगाहमा रकेट प्रहार गरेको युक्रेनी सैन्य प्रवक्ता युरी इग्नाटले बताएका थिए । युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए ।

यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको थियो ।
सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए ।

रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् । बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो ।

‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो । दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो । प्रहार गरिएको ठाउँमा अनाज थियो’, सैन्य प्रवक्ता युरी इग्नाटले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१