एसपीपी अस्वीकार पत्र : प्रचण्ड–नेपाल दबाब दिन्छन्, देउवा मान्दैनन्

काठमाडौं । अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो गठबन्धनको बैठकमा पनि सो बारे प्रश्न उठाउँदै तत्काल अस्वीकार गर्ने पत्र पठाउन अनुरोध गरे पनि प्रधानमन्त्री देउवाले भने कार्यान्वयन नगरेर वेवास्ता गरेका हुन् ।

‘केही दिन अघि पनि प्रचण्डजी र मैले प्रधानमन्त्रीलाई भेटेर एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउन पुन: अनुरोध गरेका थियौं तर उहाँले अझै पत्र पठाउनु भएको छैन्,’ अध्यक्ष नेपालले भने, ‘यो पत्र तत्काल पठाएर नेपाल असंल्गन परराष्ट्र नीतिको अडानमा रहनुपर्छ, कुनै सैन्य गठबन्धनमा रहनु हुन्न् ।’

‘विश्वको भु–राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा आफनो अनुरोध प्रधानमन्त्री देउवाले अझै कार्यान्वय नगरेको गुनासो पोखेका नेपालले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै अमेरिकालाई तत्काल पत्र पठाउन पुन: माग गरेका छन ।

गत ६ असारमा बसेको मन्त्रीपरिषद् बैठकले एसपीपीलाई अस्विकार गर्ने निर्णय गरेको थियो । अमेरिकी सैन्य गठबन्धनको एक अंग भएको भन्दै तीब्र आलोचना भएपछि सरकारले मन्त्री परिषद् बैठकमार्फत सो सहमति नगर्ने निर्णय लिएको थियो । तर, सो निर्णय भएको एक महिना बितिसक्दा पनि देउवा सरकारले अमेरिकालाई सो सम्बन्धी पत्राचार नगरेपछि प्रचण्ड–नेपालले गठबन्धनको बैठकमा पनि सो प्रश्न उठाएका थिए ।

उता, एसपीपी अस्विकार गर्ने मन्त्री परिषद्को सो निर्णय कार्यान्वयन नभएपछि माओवादी केन्द्रले ५ साउनको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ नै गर्नुपर्ने मागसमेत गरेको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१