
काठमाडौं । अंगीकृत नागरिकलाई तत्काल नागरिकता उपलब्ध गराउने व्यवस्थाप्रति राष्ट्रियसभा सदस्य वामदेव गौतम समर्थनमा उत्रिएका छन् । राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा उनले कोही पनि अनागरिक भएर बस्न नहुने र अनागरिक बनाउन नहुने तर्क गरेका हुन् ।
गौतमले भने, ‘२०४७ सालको संविधानमा नागरिकता परित्याग गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था थियो । र, त्यसबेलाको कानूनमा पनि त्यो व्यवस्था थियो । त्यसबेलाको संविधानअनुसार त्यो वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा जटिल समस्या कहिल्यै पनि उत्पन्न हुन दिएनौं ।’
अगाडि उनले भने, ‘जुन व्यक्ति तराईमा गएको छ, त्यहाँ बसोबास गरेको छ । त्यसलाई थाहा हुन्छ, कि हाम्रो देशको जस्तो समस्या, के-के समस्या छन् भन्ने कुरा जटिल समस्या छन् । तर, समाधान गर्नैपर्छ । किनभने तराईमा आधा महिला भारततिरै गएर विवाह गर्छन् । आधा पुरुष भारततिरबाट विवाह गरेर बुहारी ल्याएर आउँछन् । १४ वर्षसम्म नागरिकता नदिने व्यवस्थाले आमाले जन्माएको छोरा जन्मसिद्ध नागरिक बन्छ । १४ वर्षसम्म आमा अनागरिक भएर बसिरहनुपर्छ । अनागरिक भएर कोही पनि मान्छे बस्न हुदैन र अनागरिक बनाइनु पनि पाइँदैन ।’
गौतमले बाहिरबाट विवाह गरेर आएको महिलाले उक्त देशको नागरिकता परित्याग गर्ने प्रक्रिया सुरू गरेको प्रमाण पेस गर्ने व्यवस्था भने गरिनुपर्ने बताए ।