• २०८३ असार ११
  • 2026 June 25, Thursday

वडाध्यक्षले अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएपछि…

काठमाडाैं । बागलुङको जैमिनी नगरपालिका-९ का वडा अध्यक्ष सन्दिप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट एक युवतीलाई गर्भवती बनाएका छन् । जिल्लाको ताराखोला गाउँपालिकाकी एक २५ वर्षीय युवतीलाई ४३ वर्षीय थापाले गर्भवती बनाइ बागलुङ बजारको एक घरमा राखेको स्रोतले बताएको छ ।

घरमा एक श्रीमती ३ छोरी र १ छोरा रहेका थापाले अबैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएपछि उनलाई बाहिर हिँडडुल गर्न समेत नदिने गरेको पारिवारिक श्रोतले बतायो ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष जितेका थापाले आफू अविवाहित रहेको भनि ढाँटेर ति युवतीसँग शारीरिक सम्बन्ध गाँसेकोे परिवारको दाबी छ । पारिवारिक श्रोतका अनुसार युवतीलाई पटक–पटक गर्भपतन गराएको र तेस्रो पटक गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या आउने बताए पछि त्यसो नगरिएको बताइएको छ ।

श्रोतका अनुसार अस्पतालले ती युवती सुत्केरी हुने समय भदौको पहिलो हप्तालाई तोकेको छ । वडा अध्यक्ष थापाले घटना स्वीकार गरेका छन् ।

दुवै पारिवारिक पक्षबीच कुराकानी मिलिसकेको र आफूसँग रहेको श्रीमतीलाई डिभोर्स गरेर वा सम्पति दिएर भए पनि युवतीलाई विवाहको प्रमाण–पत्र उपलब्ध गराउने वडाध्यक्ष थापाले बताएको श्रोतकाे दाबी छ ।

यस विषयमा जैमिनी नगरपालिकाका उपमेयर तथा न्यायिक समितिका संयोजक हरिहर शर्माले पालिकामा कसैले निवेदन दिएमा छलफल चलाउने र स्पष्टिकरण सोध्ने बताए ।

‘उनी कार्यपालिका सदस्य हुन् त्यसैले उनलाई यस विषयमा स्पष्टिकरण सोध्छौँ’ उपमेयर शर्माले भने–‘त्यस बाहेक अन्य विषय (सम्बन्ध विच्छेद) लगायत भए त्यो हाम्रो क्षेत्राधिकारमा पर्दैन सम्बन्धित ठाउँमा जान भन्छौँ ।’

वडा अध्यक्ष थापा वडा मेलमिलाप समितिका संयोजक समेत हुन् । वडा मेलमिलाप समितिको संयोजकले नै अनैतिकि गतिविधि गर्दै हिँडेपछि वडाबासीले न्याय पाउने आशा मारेका छन् ।

नेपालमा कानुनतः लिभिङ टुगेदरलाई मान्यता दिइएको छैन भने यस्तो कार्यलाई अपराधको रुपमा हेरिन्छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो गम्भीर अनैतिक कार्य गर्नु अक्षम्म अपराध भएको महिला अधिकारकर्मीहरुको बुझाइ छ ।

मुलुकी अपराध संहिता १७५ (४) अनुसार दुईवटा श्रीमती राख्न पाइँदैन । दोस्रो बिबाह गर्नको लागि पनि पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद गरेको हुनु पर्ने उल्लेख छ । थापा नेकपा एमाले बागलुङ जिल्ला कमिटी सदस्य समेत हुन् ।