
काठमाडाैं । टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ । विगत एक वर्ष देखि उल्लेखनीय रुपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना उच्च रहेकाे पाइएकाे हाे ।
यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरु बिक्री भएका छन् । अघिल्लो वर्षको यसै महिना ३० हजार १८४ वटा गाडीहरु बिक्री भएको थियो । तुलनात्मक हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो ।
नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगकाे सबैभन्दा बढी बिक्री हुने ५ गाडीहरुमध्ये एक पनि हो । यस एसयुभीका साथै पन्च र एल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको छ । टाटाकाे नेक्सन नेपालमा पनि अत्याधिक रुचाइएकाे गाडीमा पर्छ ।
टाटाका गाडीहरुको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ/नयाँ रेकर्डको कायम भइरहेको छ । गएकाे महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो । यो मासिक बिक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो ।
नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भए पश्चात् यी तीनै वटा गाडीहरुको बिक्री परिमाणमा ठूलो वृद्धि भएको छ । गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको हाे । यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ ।
सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्म मा आधारित दोस्रो मोडल हो । गत महिना ११ हजार ७ वटा पन्च बिक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री संख्या ४ हजार २२ रहेको छ । यो संख्या कम्पनीको अहिलेसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो । आफ्नो विद्युतीय गाडीहरुको बढ्दो लोकप्रियताबाट उत्साहित हुँदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो ।