• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

काठमाडौं । आगामी दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् ।

आगामी दुई अभ्यास खेलका लागि अब्दुल्लाहले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी थप गर्दै २६ खेलाडी नाम अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयलाई बुझाएका हुन् ।

जसमा यसअघि निलम्बनमा परेका मिडफिल्डरद्वय अन्जन विष्ट र तेज तामाङ छन् । यस्तै, ‘रिकवरी’ भएका त्रिभुवन आर्मी फुटबल क्लबका दिनेश हेम्जन छन् । दिनेश गत ‘ए’ डिभिजन लिग २०७८ को उदयीमान खेलाडीसमेत हुन् ।

नेपालले आगामी महिना बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ । यद्यपि, आधिकारिक निर्णय भएको छैन ।

कुवेती नागरिक अब्दुल्लाहले दुई मैत्रीपूर्णको लागि २६ खेलाडीको नाम बुझाउँदा टिम व्यवस्थापक भने चाँडै नियुक्त गर्न एन्फालाई आग्रह गरेका छन् । यसअघि व्यवस्थापक मधुसुदन उपाध्याय थिए । एन्फा कार्यसमिति चेन्ज भएसँगै हाल उनी एन्फा बाहिर छन् । यस्तै, प्रशिक्षक अब्दुल्लाहले टिम व्यवस्थापकबाहेक सम्पूर्ण टेक्निकल टिम कुवेत पुगेकै माग गरेका छन् ।

गत १४ वैशाखमा प्रशिक्षक अब्दुल्लाह व्यवहारको कारण अन्जन, तेजसहित राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण होटल छोडेका बताएका थिए । त्यसपछि क्याम्प छोडेका तेज र अन्जनसहित सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, विमल घर्ती मगर, दिनेश राजवंशी, रोहित चन्द, सुमन लामासहित कप्तान किरणकुमार लिम्बूलाई बाहिर राख्दै प्रशिक्षक अब्दुल्लाहले २३ सदस्यीय टिमलाई कुवेत सिटी पुर्याएका थिए ।

यसपछि खेलाडी र प्रशिक्षकबीच विवाद उग्र बनेको छ । प्रशिक्षक केही खेलाडी ‘ब्याक’ गर्न चाहँदैनन् । जुन ‘काण्ड’ असार ६ गते सम्पन्न भएको एन्फाको चुनावी साधारणसभामा समेत देखिएको थियो ।

चुनाव जितेलगत्तै वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारबाहीमा परेका केही खेलाडी बधाई दिन बुढानिलकण्ठस्थित पार्क भिलेज पुगेका थिए । निर्वाचित अध्यक्ष नेम्बाङ र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले एन्फाको पहिलो निर्णय खेलाडी बोलाउने बताएका थिए । यसपछि ८ असारमा बसेको एन्फाको अवैधानिक पहिलो बैठकले १० खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको थियो ।