
काठमाडौं । सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।
यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको जानकारी दिए ।
सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो ।
तर अधिकृतस्तरका कर्मचारीको तलब वृद्धिदर १५ प्रतिशतभन्दा बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीहरुको तलब १५ प्रतिशत अनुसार नै हुने गरी तोकिएको नयाँ तलवमान अर्थ मन्त्रालयले मन्त्रिपरिषदको कार्यालयमा प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बाहरुले आन्दोलन सुरु गरेका थिए । उनीहरुले आज पनि आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।