• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

तत्काल चीनतर्फका नाका खुल्ने अवस्था छैन : महावाणिज्यदूतावास

काठमाडाैं । चीनको तिब्बतस्थित नेपाली महावाणिज्यदूतावासले सिगात्से, केरुङ तथा न्यालम जस्ता व्यापारिक मार्गका सहरहरूमा पनि संक्रमण बढिरहेकाले व्यापारिक नाकाहरु बन्द भएको जानकारी दिएको छ ।

ती स्थानहरूमा पनि पूर्ण लकडाउन जारी रहेकाले ततकाल नका खुल्ने अवस्था रहेको दूतावासले जनाएको छ ।

‘नेपाल जान तयार भएका सामान/ट्रकहरूको बारेमा व्यापारी तथा ढुवानीकर्ताहरूसँग जानकारी लिने कममा चाहपर्व लक्षित तयारी सामाग्री, स्याउ, लसून, अन्य खाद्यान्न, विद्युतीय गाडी आदि जस्ता सामग्री चीनतर्फ तिब्बतका बिभिन्न स्थानमा रोकिए बसेको बुझिएको छ,’ दूतावासले भने,’ट्रकको संख्या यकिन गर्न नसकिए पनि करिब ५०/५५ को संख्यामा रहेको अनुमान छ ।’

चीनका अन्य शहरहरूमा पनि कोभिड संक्रमण देखिएकोले नेपाल जाने समान बोकेका गाडी ती सहरहरूमा पनि रोकिएको हुनसक्ने अवस्था रहेको दूतावासले एक विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

तिब्बतमा हाल स्वास्थ्य क्षेत्र जस्तो अत्यावश्यक क्षेत्र बाहेकका सरकारी कार्यालयहरू बन्द रहेको छ र महावाणिज्य दूतावासले सम्बन्धित विभागहरूसँग सम्पर्क गरी व्यापारिक नाकाको बारेमा सूचना संकलन गर्ने प्रयास गरिरहेको तर लकडाउनका कारण तिब्बत वाणिज्य विभाग र परराष्ट्र कार्यालयसँग सम्पर्क हुन कठिनाइ भएको जानकारी दिएको छ ।