
काठमाडौं–१० बुद्धनगरकी पवित्रा रेग्मी स्कुटरको निकै शौखिन छिन् । उनी बजारमा नयाँ स्कुटर आउने वित्तिकै किन्न हतार गर्छिन् । फरक–फरक समयमा नयाँ–नयाँ डिजाइनका स्कुटर उनको रोजाइमा पर्छ ।
उनले पछिल्लो समयमा सुजुकी एभेनिस १२५ स्कुटर किन्ने योजना बनाएकी थिइन् । भारतमा केही समयअघि आएको यो स्कुटर नेपालमा गएको सोमबार भीजी अटोमोबाइल्सले सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको स्कुटर उनले हेरेपछि उनको सोच परिवर्तन भयो । यसअघि उनी टीभीएसको एन्टोर्क चढ्थिन् । उनलाई यो स्कुटर एन्टोर्कको कपि जस्तो लागेको छ ।
सुजुकी एभेनिस १२५ र टीभीएस एन्टोर्क १२५ को लुक्स उस्ताउस्तै देखिन्छ । उनी भन्छिन् ‘सुजुकी एभेनिस १२५ र टिभियस एन्टोर्कको हेडलाइट र इन्डिकेटर कपी जस्तो देखिन्छ ।’
सामान्यतया मानिसहरुले बाइक तथा स्कुटर किन्दा मूल्य र त्यसले दिने माइलेज हेर्ने गर्छन् । यो दुवै विधामा पनि यो स्कुटर त्यति प्रभावकारी नभएको सुजुकी शोरुममा स्कुटर हेर्न आइपुगेका सुन्धाराका राजेश साह बताउँछन् ।
सुजुकी एभेनिस १२५ को मूल्य नेपाली बजारमा २ लाख ९९ हजार ९०० राखिएको छ । सेम फिचरका अन्य कम्पनीका स्कुटरको मूल्यको तुलनामा यो बढी हो ।
महंगो मूल्य तिरेर पनि किन उस्तै प्रकृतिका स्कुटर चढ्ने ? उनको प्रश्न छ । उक्त स्कुटरमा तौल कम गर्नका लागि प्लास्टिकका सामान अत्याधिक प्रयोग गरिएको पनि उनले गुनासो गरे ।
‘केही गरी लडिहाल्यो भने टुट्ने फुट्ने सम्भावना पनि धेरै देखियो’ उनले भने । पहिलोपटकमा नै महंगो मूल्य तिरेर किनेको स्कुटरमा पछि पनि बढी खर्च आउने उनको बुझाइ छ ।