भदौ २० भित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसकाे निर्देशन

काठमाडाैं । कांग्रेसले चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र जारी गरेको छ ।

महामन्त्री गगन थापाले भदौ २० गतेभित्र विभिन्न चरणमा छलफल गरेर प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन् ।

थापाले पार्टीलाई जारी गरेको निर्देशनमा भदौ १६ गतेभित्र क्षेत्रीय कार्यसमितिले आफ्नो नाम टुंगो लगाइसक्नुपर्ने छ ।

क्षेत्रीय कार्यसमितिबाट आएका नामलाई जिल्ला कार्यसमितिले भदौ १८ गते र जिल्लाबाट आएका नामलाई भदौ २० गतेभित्र आफ्नो रायसहित केन्द्रमा पठाउनु पर्ने उल्लेख छ।

कांग्रेसले मंसिर ४ गते हुने चुनावमा समानुपातिकतर्फ यसअघि २०७४ को चुनावमा अवसर पाएकालाई यसपटक नदोहोर्‍याउने पनि जनाएकाे छ । थापाको निर्देशनमा अघिल्लोपटक समानुपातिकमा नाम भएकालाई सिफारिसमा नपार्न भनिएको छ ।

निर्देशनमा भनिएकाे छ, ‘२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको समानुपातिकतर्फको उम्मेदवारका नागी सिफारिस नगर्ने ।’

प्रत्यक्षतर्फका लागि उम्मेदवारको नाम सिफारिस गर्दा एक पदका लागि बढीमा तीन जना र समानुपातिकतर्फको लागि समावेशीतालाई ध्यान दिँदै एक महिलासहित बढीमा दुई जना पठाउन पनि भनिएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१